२०८१ कार्तिक २०

थाहा नभएको जन्मदिन

Madan Tamang

आज धेरै नै केही लेखौँ जस्तो भयो। त्यसकै लागि ल्यापटप अन भएको पनि एक घण्टा जस्तो भयो। मन देखि केही कुराहरू आए जस्तो हुन्छ। किबोर्डमा हात राख्छु तर अकस्मात् सब हराएर जान्छ। केही समय भयो, मनको भावहरूलाई शब्दमा थुपारूँ भनेको तर एउटा शब्द पनि निस्कन मान्दैन खास किन हो? यो पनि सोच्न सकिरहेको छैन। बरु मोबाइलमा पो हुन्छ की भन्ने सोचेँ र यता मोबाइलमा पनि किप नोट अन गरेँ अनि केही लेख्न खोजेँ तर कसै गरे पनि मनको भावनाहरू उत्रन मानेको छैन। उठ्छु टेबलमा बसेको ल्यापटपमा लेख्न कुर्सीमा बस्छु फेरि लेख्नै सक्दिनँ। एकाएक सब हराएर जान्छ। फर्कन्छु बिस्तरामा सुत्छु मोबाइलको किप नोटमा नै केही लेख्न खोज्छु तर सक्दै सक्दिनँ।

आफू भित्रै हराउँदै गरेको आफैलाई देख्दा मन मनै आफै देखि रिस उठ्न लाग्यो। मनमा एक प्रकारको रिसले आफै भित्र जल्दै गरेको जस्तो भान भयो। बेस्सरी शरीर तातियो। छाती पोल्यो। टाउको भारी भयो। कता कता श्वास फेर्दा नाकमुखबाट धूवाँको मुस्लो निस्किए जस्तो भयो। बाँधलाई छिचोलेर बग्न लागेको पानी जस्तै आँखाबाट आँसु खस्न खोज्दै थियो। तर खसी हालेको थिएन। मन एकदम भारी भयो। सायद जोख्न मिल्ने थियो भने पुरै वजन सहित तपाईँलाई बताउने थिएँ। भित्र भित्रै बेस्सरी जल्न लागेँ। जल्दै गरेको मलाई निभाउन कोठा बाहिर निस्केँ। बरन्डामा गएँ। उभिएँ, चिसो हावाले गालाको छालामा स्पर्श गर्‍यो। गालाको छाला केही चिसो भए जस्तो लाग्यो तर मन भने बेसरी तातिदै थियो। भित्र बाहिर गर्दै थिएँ। मनिष दाइलाई सम्झिएँ। भित्र गएँ। दाइको सिरानी मुनि हात लगाएँ। शिखर आइस चुरोटको बट्टाबाट एक खिल्ली चुरोट निकालेँ अनि लाइटर पनि।

बाहिर बरन्डामा गएँ। फिल्टरमा बायाँ हातको चोर औँला र बूढी औँलाले केही दबाब दिएँ। प्वाट्ट आवाज आयो। बायाँ हातकै चोर औँला र माझी औँलाको बिचमा चुरोटको खिल्ली च्यापेँ। दाहिना हातले लाइटर जलाएँ। एकएक हात र मुखको स्पर्श भयो बिचमा चुरोट थियो। त्यो स्पर्शमा चुरोट जल्न पर्‍यो। सायद स्पर्श हुनु भनेकै जल्नु पो हो कि त? पहिलो सर्को निकै जोडले तानेँ। धुवाँ भित्र सम्म पुग्यो जस्तो भान भयो। सितल भयो। बरन्डामा चुरोटको सर्को सगै घोत्लिएर बसेँ। स्वयम्भू तिर हेरी रहेँ। स्वयम्भू महा चैत्य खुब राम्रो देखिएको थियो। सेतो र पहेँलो रङ साझ पख बलेको बत्तिले झनै चम्किएको थियो। महा चैत्य कै अगाडि रहेको अनन्तपुर स्तम्भ पनि खुब चम्किएको थियो। सेतो… तर प्रतापपुर मै जस्तै लाग्थ्यो कालो धब्बा। ७२ शालको भुकम्पले भत्किएर अझै पनि बन्न सकेको थिएन। शरीर भरी स्टिल, बाँस, फ्ल्याक र प्लाई बोकेर बसेको थियो कतै डोरिले कसेर कतै किला ठोकेर। म एक तमासले चुरोट पिउदै हेरीरहेँ स्वयम्भू नाथलाई। कति बजे सम्म बसेँ ठ्याक्कै थाहा भएन।

बुधबार, भाद्र २७ गते अर्थात हिजो साँझ कति बेर सम्म अनिदो बसेँ थाहै पाईन। घडी लगाएकै थिएँ। मोबाईल पनि साथमै थियो तर समय हेर्न भुलेछु। हुन त आफैलाई भुलेको बखत समयलाई भुल्न कुन ठूलो कुरो भयो र । सायद म बेलुकी अबेर सम्म सुतेनछु क्यार। बिहान उठ्न गाह्रो भए पछि सोचेँ। चन्द्र भाईले एकाबिहानै बोलाए पछि बल्ल बिउँझिएँ। बिउँझिएको १०-१५ मिनेट पछि बल्ल तल्ल उठेँ। उठेर पनि केही गर्ने मन नै भएन।

शुक्रबार, भाद्र २८ सबेरै बिहानै उठेर नुहाउने, मन्दिर जाने पुजा पाठ गर्ने। केही नयाँ राम्रो कामको थालनी गर्ने यस्तै यस्तै संकल्प थियो मनमा तर गर्न केही सकिन। नागरिकता अनुसार भाद्र २८ अर्थात १३ सेप्टेम्बरको दिन मेरो जन्मदिन। तर म खास कहिले जन्मिएँ यो कसैलाई थाहै छैन, थाहा थिएन। मलाई झन थाहा हुने कुरा नै भएन। म त उही नागरिकतामा लेखिएको मितिलाई नै जन्मदिन मानिरहेछु। अघिल्लो बर्षको जन्मदिन सम्म त म आजकै दिनलाई जन्मदिन मान्दै आएको थिएँ तर त्यही दिन म सगै जन्मिएकी भनिएकि मायाले आफ्नो जन्मदिन त मंसिर ७ गते रहेको मेसेज मार्फत बताईन। मेरो मनमा झनै अलमल भैइ गयो।

जन्मदिन, बच्चा त होईन र पनि किन खै यो जन्मदिनमा धेरै आश लागेर आएको थियो। आज सम्म नलागेको आश अनि नगरेको अपेक्षा खै किन? केक काट्ने, सानै भए पनि मीठो मसिनो बनाएर घरमा जन्मोत्सव मनाउने, भाइ साथीसँग केही खुसी साट्ने रमाईलो गर्ने। कहिले पनि नदेखेको उपहार पाउने यस्तै यस्तै धेरै अपेक्षा र आशहरु मनमा पलाई रह्यो। सायद नपाउने कुराको नै आश लाग्दा हुन।

खै, कति मान्छेहरु त जन्मदिनको अघिल्लो रातको बाह्र बजे जन्मदिनको शुभकामना दिन नसुती बस्ने गर्छन भन्ने सुनेको थिएँ। तर मेरो लागि त कोहि रहेनछ। सायद म नै गलत थिएछु कि। जाबो मेरो जन्मोत्सवको शुभकामना दिन को अनिदो भएर नसुती बस्दा हुन। बिहान उज्यालो भए पछि पनि खासै आएको त हैन। केही बैंकको सेड्युअल मेसेज अनि दुई जना साथी दिपेस कुमार खड्का सर र आकाश लामा सहकर्मी भन्दा बाहेक कसैको पनि मेसेज आएन। आश गरेका मान्छेहरुबाट पनि एउटा मेसेज सम्म आएन।

मेरो जन्मदिन मेरै श्रीमतीले सम्म पनि याद गर्न सकेन। सोचेको थिएँ। बिहान जन्मदिनको शुभकामना पाउछु भन्ने। तर मेरो सोच म भित्र मात्रै रहेछ।

मेरो विगत, वर्तमान र भविष्य न झाँक्रीले अखात हेर्दा मिलाएको थियो। न ज्योतिषले हात हेर्दा। न लामाले नै मिलाएको थियो। फरक ठाउँ फरक राशी यति सम्म कि म कहिले सिंह राशीको भै दिन्थेँ। कहिले कर्कट कहिले मकर कहिले बृश्चिक। फरक ठाउँ फरक राशी। अलग ठाउँ अलग कुरा।

फेसबुक, टिकटक, एक्स, इन्स्टाग्राम लगायत सामाजिक सञ्जालमा जतिनै साथी भए पनि ती मात्रै साथी हुदा रहेछन। हुन त के रिस पोख्नु र। आफ्नै घरकाले त सुईको सम्म पाएनन मेरो जन्मदिनको बारेमा।

खयर, यी सब कुरा छोडम यो बर्षको जन्मदिन यसै खल्लो भै नै सक्यो। यता लोकेन्द्र भाइ बिरामी पर्नु। भर्खरै चिनजान भएको सागर, आशिष, लाप्साङ र बिष्णु पनि गाउँ जानू। यस्तै भयो। मरेको लासलाई जुम्राले पनि छोड्छन भन्दा म खुब प्रतिवाद गर्थे। मरेको लासलाई जुम्राले छोडेर के भयो त कमिलाले त साथ दिन्छ नि। हो अहिले मेरो यो कुरा पनि झुट सावित भै दियो। अहिले मलाई कमिलाले पनि छोडेको छ। सायद, भाईहरु भाको भए अनि लोकेन्द्र बिमारी नभाको भए केही नभए पनि रमाईलै हुने थियो। चन्द्र भाइ, मनिष दाई अनि म मात्रै बसुम भने पनि हामीलाई छुटायो भनेर मन दुखाउलान कि जस्तो लाग्यो।

बिहानको खाना खाने बेला भयो। Mad-Y खाना खान जाम। दाई मलाई खानै मन छैन। किन के भयो? बेस्सरी पेट दुखेको छ। खाना नखाएर हो जाम हिड। दाइ नखाने हजुर जानु। मैले, यति भने पछि मनिष दाइ भर्खरै खाना खान निस्कनु भयो। चन्द्र भाइ मलाई खाना खानलाई कहर गरिरहेको थियो। मलाई खान मन छैन भनिदिएँ। सधै कहर गर्ने चन्द्र पनि आज एक बचनमै खाना खान निस्कियो।

लोकेन्द्र भाइ तिमी ज्वरोबाट मुक्ती पाउनु। भाईहरु पनि फर्कन्छन अनि मनिष दाइ र चन्द्र भाइ त सगै छन त्यसपछी मेरो जन्मदिनको जन्मोत्सव भव्य हुनेछ।

जहाँ म पुनः एक पटक जन्मन चाहान्छु।

Advertisements
प्रतिक्रिया दिनुहोस्